
धनगढी: पत्रकार सुरेश रजकको हत्याविरुद्ध कैलालीका पत्रकारहरूले आइतबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्। उनीहरू कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाँधेर खटिएका हुन्।
पत्रकार आक्रमण र हत्याको विरोधमा नेपाल पत्रकार महासंघ कैलालीले आह्वान गरेको थियो। सोही अनुरुप कैलालीको धनगढी, अत्तरिया, सुखड, बौनिया, लम्की र टीकापुर हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।


आइतबार बिहान पत्रकार महासंघ कैलालीका सभा हलमा एक कार्यक्रम गरि सबैलाई कालोपट्टी प्रदान गरेर विरोध कार्यक्रमको सुरु गरिएको अध्यक्ष श्रवण देउवाले जानकारी दिए।
महासंघ सभा हलमा सामूहिक रूपमा जम्मा भएर सबैलाई आन्दोलनमा सहभागि हुन आह्वन गरेका थिए।
पत्रकार महासंघको आन्दोलनको कार्यक्रम अनुसार आइतबार कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाध्ने, सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको महासंघ कैलालीका सहसचिव शंकर बोहराले जानकारी दिए।
राजावादीहरूले शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर पत्रकार रजकको हत्या गरेको यहाँका पत्रकारहरू विरोधमा उत्रिएका हुन्।
