Skin_Hospital_Dhn

दक्षिण एसियामा नेपाल सर्वाधिक सुरक्षित देश

काठमाडौँ: विश्वका सर्वाधिक सुरक्षित देशको लिस्टमा नेपाल दक्षिण एसियामा सर्वाधिक अघि देखिएको छ। सर्वियाको विश्व प्रतिष्ठित सूचांक प्लेटफर्म नुम्बियोले जारी गरेको सर्वेक्षण प्रतिवेदनअनुसार नेपाल ६३.३ अङ्कका साथ ४७ औँ स्थानमा रहेको छ। दक्षिण एसियामा नेपालभन्दा अघि कुनै पनि देश रहेका छैन।

यो लिस्टमा दक्षिण-पश्चिममा रहेको युरोपियन देश अन्डोरा शीर्ष स्थानमा रहन सफल भएको छ। जुन देश स्पेन र फ्रान्सको बीचमा अवस्थित छ। नुम्बियोले सुरक्षित देशको वरियता त्यो देशको रहनसहन, अपराध दरको आधारमा तयार गर्ने गर्छ।

यो वरियतामा यसपटक भारतलाई पाकिस्तानले पछि पारेको छ। अझ अमेरिका ब्रिटेनलगायतका देश निकै पछि रहेका छन्। यो वरियतामा शीर्ष स्थानमा रहेका पाँच देशमा पहिलो नम्बरमा एन्डोरा रहँदा युएई दोस्रो नम्बरमा रहन सफल भयो।

त्यस्तै, कतार तेस्रो र ताइवान चौंथो स्थानमा रहेका छन्। त्यस्तै, ओमान पाँचौं स्थानमा रहन सफल भयो।ताइवानलाई अन्तर्राष्ट्रिय रुपमा स्वतन्त्रता प्राप्त देशका रुपमा मानिँदैन। यसलाई चीनले आफ्नो अङ्गका रुपमा मान्छ। चीन भने १५ औँ नम्बरमा रहेको छ।

अमेरिका भने विश्वको सुरक्षित देशको शीर्ष ५० भित्रसमेत पर्न असफल भएको छ। १ सय ४७ देशमा गरिएको सर्वेक्षणका आधारमा अमेरिका ८९ औँ स्थानमा रहँदा ब्रिटेन ८७ औँ स्थानमा छ। दक्षिण एसियामा भारत ६६ औँ स्थानमा रहँदा पाकिस्तान ६५ औँ स्थानमा रहेको छ।

सूचीमा सहभागी गराइएका १ सय ४७ देशमा भेनेजुएला सर्वाधिक असुरक्षित मानिएको छ। उसको वरियता १४७ औँ स्थानमा रहेको छ। योबाहेक पपुवा न्यु गिनी १४६ औँ स्थानमा रहँदा हाइटी १४५ र अफगानिस्तान १४४ र दक्षिण अफ्रिका १४३ स्थानमा रहेको छ।

दक्षिण एसियामा यो लिस्टमा भुटान सहभागी छैन। यस्तोमा नेपाल ४७ औँ स्थानमा रहँदै सर्वाधिक माथि छ। दोस्रो स्थानमा रहेको श्रीलंका ५९ औँ स्थानमा रहँदा पाकिस्तान ६५ औँ स्थानमा छ। त्यस्तै, भारत ६६ औं स्थानमा छ भने माल्दिभ्स १०६ औं स्थानमा छ। दक्षिण एसियामा बंगलादेश सर्वाधिक पछि रहेको छ। १४७ देशमध्ये बंगलादेश १२६ औँ स्थानमा रहेको छ।

सम्बन्धित
Loading...