
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२, सिद्धार्थनगरमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा थप भौतिक पूर्वाधार (भवन) निर्माण गरिने भएको छ। भारत सरकारको सहयोगमा सञ्चालन हुने ‘उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना’ कार्यक्रमअन्तर्गत सिद्धनाथ माविमा भौतिक पूर्वाधार निर्माण गरिने भएको हो।

जसका लागि मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल सरकार), भारतीय राजदूतावास, काठमाडौं (भारत सरकार) र धनगढी उपमहानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रमका लागि भारतीय राजदूतावासबाट ५ करोड २७ लाख ३३ हजार ६३१ (कुल लागतको ९० प्रतिशत, टेण्डर पश्चात रकम घट्न गएमा सोही अनुपातमा हुन आउने रकम) रूपैयाँ उपमहानगरलाई प्राप्त हुने र उपमहानगरले प्राप्त रकममा १० प्रतिशत रकम थप गरेर परियोजना कार्य सञ्चालन हुने मेयर गोपाल हमालको सचिवालयले जनाएको छ।
