
धनगढी: खोखोका हेमराज पनेरू र मानमती धामी छैटौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१ मा वर्ष खेलाडी घोषणा भएका छन् ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा धनगढीमा भएको अवार्डमा पनेरू वर्ष खेलाडी पुरुष र धामी वर्ष खेलाडी महिला घोषणा भएका हुन् ।

पनेरू प्रथम खोखो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । पनेरूसँगै करातेका मोहम्मद सेखु आलम र भलिबलका अर्जुन नेपाली मनोनयनमा परेका थिए । धामी प्रथम खोखो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी हुन् । उनीसँगै बक्सिङकी स्वस्तिका तिरुवा र कबड्डीकी मानमती विष्ट मनोनयनमा परेका थिए । अवार्ड विजेता पनेरू र धामीले नगद ३५–३५ हजार रुपैयाँसँगै ट्रफी पाए ।

कबड्डीका हरिना थापा वर्ष प्रशिक्षक भएकी छन् । उक्त विधाको मनोनयनमा कबड्डीकै विष्णु भट्ट र भलिबलका जगदीश भट्ट थिए । थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कांस्य पदक जिताउने प्रशिक्षक हुन् । विजेता थापाले नगद ३० हजारसँगै ट्रफी पाइन् ।
वर्ष युवा खेलाडीमा कबड्डीका सुशील चुनारा चुनिए । बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । चुनाराले नगद २५ हजारसहित ट्रफी पाए । उनीसँगै मनोनयनमा फुटबलका नीराजन धामी र क्रिकेटका नरेन साउद थिए ।
पुरुषतर्फ पौडीका अथर्व सिंह र महिलातर्फ करातेका मनीषा बोहरा सुदूरपश्चिम आइकन घोषित भए । सिंह वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी हुन् भने बोहरा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । दुवै विजेता खेलाडीले नगद २५–२५ हजारसहित ट्रफी प्राप्त गरे । पुरुषतर्फ क्रिकेटका हेमन्त धामी र कबड्डीका खगेन्द्र जोशी तथा महिलातर्फ कबड्डीका मनीषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा थिए ।
फुटबलका कमल लामालाई लाइफटाइम एचिभमेन्ट र क्रिकेटकी रीतु कनौजियालाई स्पेसल अवार्ड प्रदान गरिएको थियो । लामा सुदूरपश्चिममा फुटबल खेलका सुरुवातकर्ता हुन् भने कनौजिया नेपाली महिला क्रिकेट टोलीकी पहिलो ब्याच हुन् । उनी अहिले पनि क्रिकेट खेलाडीकै रूपमा सक्रिय छिन् । उनीहरू दुवै जनाले नगद २५–२५ हजारसहित ट्रफी पाए ।
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्का, आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकलगायतले विजेतालाई पुरस्कृत गरे । कार्यक्रममा गायक दुर्गेश थापालगायतका कलाकारले प्रस्तुति दिएका थिए ।
