
साँफेबगर: अछामको बयलपाटा अस्पतालमा चुलिएको आर्थिक सङ्कटले जुनसुकै बेला स्वास्थ्य सेवा रोकिन सक्ने अवस्था उत्पन्न भएको छ। अस्पतालको जनप्रशासन विभागले चैत ५ गते एक सूचना जारी गर्दै अस्पतालबाट प्रवाह सेवा उपयुक्त व्यवस्थापनका लागि आर्थिक सङ्कटको सामना गरिरहनु परेकाले रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको पदपूर्ति गर्न नसकेको जनाएको छ।
आर्थिक अभावका कारण बिरामीलाई आवश्यक पर्ने औषधी, ल्याब तथा अन्य स्वास्थ्य सामग्रीको खरिद, भण्डारण तथा आपूर्ति गर्नसमेत कठिनाइ भइरहेको सो अस्पतालले जनाएको छ। सेवाग्राहीलाई समयभित्र स्वास्थ्य चेकजाँच गर्न तथा आवश्यकता अनुसार सबै औषधी उपलब्ध गराउन समस्या हुँदै आएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।


अस्पतालमा आवश्यक जनशक्तिको अभावका कारण उपचारका लागि अस्पताल आएका बिरामीले आजैको आज उपचार सेवा प्राप्त गर्न नसके फेरि अर्को दिन अस्पताल आउनुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने अस्पतालले जनाएको छ । बयलपाटा अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा दिइरहेको छ ।
सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा अस्पताल स्थापना भएको थियो । अस्पतालले २०७८/७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिएको अस्पतालका मेडिकल निर्देशक एवं हाडजोर्नी विशेषज्ञ डा. मन्दीप पाठकले बताए।
५० शय्याको सो अस्पतालमा अहिले सात जना चिकित्सक र २० जना नर्स छन्। सो अस्पतालले विशेष गरेर ग्रामीण क्षेत्रमा रहेका उपचार नपाएका र बाहिर गएर उपचार गर्न सक्ने आर्थिक अवस्था नभएका बिरामीलाई बढी केन्द्रित गरेर सेवा दिँदै आएको छ ।
