Skin_Hospital_Dhn

दुई वर्ष उमेरसम्मका बालबालिकामा देखा पर्छ अटिजमको लक्षण

धनगढीः १८औँ विश्व ‘अटिजम’ जागरुकता दिवस धनगढीमा पनि मनाइएको छ। दिवसको अवसरमा बुधवार सेती प्रादेशिक अस्पताल धनगढीले अन्तरक्रिया तथा पत्रकार सम्मेलन कार्यक्रम गरेको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो।

अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए। उनले अटिजम नौलो प्रकारको रोग भएका टिमवर्कमा काम गर्ने प्रयासमा आफूहरू रहेको बताए।

प्रदेश सरकारको सहयोगमा सेती अस्पतालले मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म अटिजमसम्बन्धी सेवा दिइरहेको मेसु पाण्डेले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रका अनुसार अटिजमका लक्षण प्रायः २ वर्षको उमेर सम्ममा देखा पर्छन्। उनले प्रदेश सरकारको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयले गरेको अध्ययनले सुदूरपश्चिमका चार सय बढी बालबालिकामा अटिजमको समस्या रहेको बताए।

डा. मिश्रका अनुसार अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ। अटिजम भएका बच्चाहरुमा अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेर अनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिन्छन्।

हालसम्म अटिजमको निश्चित कारण यही नै हो भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुनसक्ने औँल्याएका छन्। साथै वंशाणुगत, वातावरणीय प्रभावको कारणले पनि अटिजमको जोखिम बढाएको पाइएको छ।

अटिजम भएका बालबालिका कसैसँग अन्तरक्रिया नगर्ने, आँखामा आँखा जुधाएर बोल्न नसक्ने, अरुसँग घुलमिल नहुने या एक्लै खेल्न मन पराउने, सामाजिक क्रियाकलापमा चासो नै नदिने, नामले बोलाउँदा प्रतिक्रिया नदिने, कुनै एउटा चिजमा मात्रै ध्यान दिइरहने, वस्तुहरूप्रति अनौठो लगाव, दोहोरो सम्वाद नगर्ने, आफ्नो भावना व्यक्त गर्न नसक्ने, अरुको भावना नबुझ्ने, उमेर अनुसार बोलीको विकास नहुने, अरुले भनेकै वाक्य वा शब्द दोहोर्‍याउने गर्छन्।

यसका साथै एकोहोरो प्रकारको रुचि हुने, आफूलाई चाहिएको चिज या वस्तुलाई औंला नदेखाउने साथै चाहिएको अवस्थामा अरुको हात समातेर देखाउने, घाउचोट र दुखाइमा असामान्य बेवास्ता वा अत्यधिक प्रतिक्रिया दिने, असामान्य व्यवहार जस्तै, हल्लिने, मच्चिने, उफ्रिने, कुर्कुच्चा या औंलाले मात्रै टेकेर हिँड्ने, सामान्य रुपमा बुझ्न नसकिने अनौठा आवाजहरू निकाल्ने, घुमिरहेको वस्तुप्रति अत्यधिक लगाव हुने, निष्क्रिय या अत्यधिक चञ्चल हुने र दैनिक कार्यतालिकामा परिवर्तन गर्न मन नपराउनेजस्ता लक्षण देखिन्छन्।

यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्ने चिकित्सकहरू बताउँछन्। अटिजमको उपचारका लागि प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ दिइन्छ। जसमा अभिभावकलाई बच्चाको व्यवहारिक सिप विकासमा सहयोग गर्ने पद्धतिहरु सिकाइन्छ। प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ भनेको व्यवहार सम्बन्धी (बिहेबिएरल) थेरापी हो। जसमा रिवार्ड र पनिस्मेन्ट (पुरस्कार र सजाय) लाई कसरी सही तरिकाले प्रयोग कसरी गर्ने भनेर सिकाइन्छ।

उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित पत्रकारहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...