
बाजुरा: बाजुराको बडीमालिका नगरपालिका–९ बाउली खोलामा एक पुरुषको शव फेला परेको छ। तीन दिनदेखि सम्पर्कविहीन रहेका बडीमालिका–९ चौराटा ४२ वर्षीय सूर्य बिष्टको शव बाउली खोलामा फेला परेको हो।

बाउलीको आसपासमा मृत विष्टको जुत्ता र मोबाइल एकदिन पहिला बाउली नजिक फेला परेको थियो। आज बिहान उनी पनि त्यसै नजिक मृत अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए।

उनका अनुसार स्थानीयले विष्टको शव नेपाल विद्युत प्राविधिकरणको बाजुरा वितरण केन्द्रको पावर हाउस नजिकै बाउली खोलामा भेटिएपछि
प्रहरीलाई खबर गरेका थिए।
अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। उनको आफन्तले हत्याको आशङ्का गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिए।
