Skin_Hospital_Dhn

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं: वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन भएको छ।

आइतबार काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको उनकी छोरी सुष्मा रिसालले जानकारी दिइन्।

आइतबार राति ९ बजेतिर उनको निधन भएको हो। रिसाल ९७ वर्षका थिए। वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए। शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने सुष्माले बताइन्।

रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्। उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए।

वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

सम्बन्धित
Loading...