Skin_Hospital_Dhn

मुख्यमन्त्री शाहको पहलमा सुदूरपश्चिम आयो क्यान्सर परीक्षण टोली

महिलाको पाठेघर र स्तन क्यान्सरको परीक्षण गरिँदै

धनगढी: सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा क्यान्सर अस्पताल भक्तपुरको टोलीले प्रदेशका विभिन्न जिल्लामा पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेको नेतृत्व २२ जनाको टोली सुदूरपश्चिम आएको हो।

उक्त टोलीले चैत २२ गते अछामको रामारोसन गाउँपालिका र चैत २४ गते डडेल्धुराको अमरगढी नगरपालिमा शिविर सञ्चालन गरी महिलाहरूको पाठेघर र स्तन क्यान्सर परीक्षण गरेको हो। टोलीले मंगलबार बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालमा स्वास्थ्य जाँच गर्ने डेभलोपमेन्ट रिसोर्स मोविलाइजेन्स नेटवर्कका निर्देशक प्रमोदराज ढकालले बताए।

सुदूरपश्चिममा महिलाहरूमा आँङ्ग खस्ने, पाठेघर र स्तन क्यान्सर समस्याका कारण यस क्षेत्रका महिलाहरुले पीडा भोग्नु परेको छ। मुख्यमन्त्री शाहले कुनैपनि महिलाले यो समस्याबाट अकालमा ज्याज गुमाउन नपरोस भनी भक्तपुर क्यान्सर अस्पतालसँग महिलाहरूको स्वास्थ्य जाँचका लागि पहल गरेका थिए।

अछाम र डडेल्धुरामा स्वास्थ्य जाँच गरि फर्केको टोलीसँग सोमबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदूरपश्चिममा महिलामा हुने पाठेघर र स्तन क्यान्सरको स्वास्थ्य अवस्थाको बारे जानकारी लिएका छन्।

अछाम २ सय ६० जना महिलाको पाठेघर र ३ सय ५० जनामा स्तन क्यान्सर र डडेल्धुरामा १ सय ५० जना महिलाको पाठेघर र १ सय ७० जनामा स्तन क्यान्सरको परीक्षण गरिएको डा. वर्षा प्रसाईंले सो अवसरमा जानकारी दिइन्।

उनले अछामका ५ जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सर र डडेल्धुरामा २० जनामा पाठेघर र २० जनामा स्तन क्यान्सरको शंका लागेकोले थप उपचारका लागि रेफर गरिएको बताइन्। डडेल्धुरामा १ जनामा देखिएको क्यान्सरका कारण अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिको सहयोगमा क्यान्सर अस्पतालमा तत्काल उपचारका लागि रेफर गरिएको छ।

शंका लागेर रेफर गरिएका बिरामीले स्वास्थ्य बीमा कार्ड रेफर कार्ड देखाइ जुनसुकै अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण गर्न सक्नेछन्। स्वास्थ्य जाँचका लागि ८ वर्षको बालिका देखि ६० वर्ष माथिको महिलाहरू सहभागी रहेका छन्। परीक्षणमा अछाम र डडेल्धुरामा पाँच/पाँच सय महिलाहरूमा चेकजाँच गर्ने योजना रहेकोमा सो संख्यामा महिलाहरुको उपस्थिती नरहेको डा. प्रसाईले बताइन्।

उनले लजाउने, जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर र यहाँको यातायातको समस्याका कारण स्वास्थ्य जाँच्न कम जना आएको हुन सक्ने बताइन्। जाँचमा आएका करिब ८० प्रतिशतलाई जेनेरल लक्षण देखिएकोले ५ देखि ७ दिनसम्मको निःशुल्क औषधि दिएको सो अवसरमा जानकारी दिइयो।

सम्बन्धित
Loading...