Skin_Hospital_Dhn

धनगढीका सामुदायिक विद्यालयको नतिजा सुधार हुँदै, ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण

धनगढीः धनगढी उपमहानगरपालिकाले यो वर्ष सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजामा सुधार भएको छ। बुधबार उपमहानगरपालिकाले सार्वजनिक गरेको शैक्षिकसत्र २०८१ को नतिजा गत वर्ष र अघिल्लो वर्षको तुलनामा सुधार भएको हो।

शैक्षिकसत्र २०७९ मा धनगढीका ४४ सामुदायिक विद्यालयको कक्षा ८ मा जम्मा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी पास भएका थिए। उपमहानगरपालिकाले परीक्षामा कडाइ गरेपछि एकाएक नतिजा खस्किएको थियो।

यस्तै, गत शैक्षिकसत्र २०८० मा सामुदायिक विद्यालय तर्फ कक्षा ८ का ३० दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यो वर्ष थप सुधार भएर कुल परीक्षार्थीको ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको युवा, खेलकुद तथा शिक्षा महाशाखाले जनाएको छ।

महाशाखाले प्रकाशित गरेको नतिजामा यो शैक्षिकसत्रमा ४४ सामुदायिक विद्यालयबाट दुई हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक हजार २३३ जना पास भएका हुन्।

सामुदायिक विद्यालयतर्फ ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा धनगढीका ६३ संस्थागत विद्यालयबाट भने ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढीका जम्मा १०७ सामुदायिक र संस्थागत विद्यालयको परीक्षाको नतिजामा सुधार हुँदै यो वर्ष ६१ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५१ दशमलव ४० प्रतिशत पास भएकामा शैक्षिकसत्र २०७९ मा ३२ दशमलव ७८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए।

सम्बन्धित
Loading...