
धनगढी: अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा आगलागीबाट पीडित भएकाहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए। मङ्गलबार बेलुकी जयगढ बजारका घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बजारमा सात करोड ५४ लाखभन्दा बढी क्षति भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालमा पत्रकार सम्मेलन गर्दै जानकारी दियो।


‘जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ,’ मुख्यमन्त्री शाहले भने, ‘सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको हो। यसका साथै प्रारम्भीक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने निर्णय गरेका छौँ।’
प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था वुझ्नका लागि सामाजिक विकासमन्त्री मेघराज खण्का र आन्तरिक मामिलामन्त्री हिरा सार्कीलाई राहात सामग्रीसहित जयगढ पठाउने निर्णय गरेको छ।
जयगढ बजारमा लागेको भीषण आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको थियो। स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमइ सेन्टरमा साँझ ७ः२० मा ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राति साढे १२ नियन्त्रणमा आएको थियो। जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा घर तथा पसलहरू पूर्ण रुपमा जलेर नष्ट भएको विवरण छ।
