Skin_Hospital_Dhn

जयगढ बजार आगलागी : गाउँपालिकाले ६ लाख सहयोग गर्ने

अछाम: बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा आगलागीबाट पीडित भएकाहरूलाई गाउँपालिकाले ६ लाख उपलब्ध गराउने भएको छ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्कालको राहतको लागि पीडितलाई ६ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष टेकबहादुर साउँदले जानकारी दिए।

पीडित परिवारलाई अस्थायी रुपमा खाद्यन्न र आवासका लागि उक्त रकम दिने निर्णय भएको बताइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले जयगढमा भएको आगलागीबाट पीडित परिवारलाई ५० लाख रकम सहयोग गर्ने निर्णय गरिसकेको छ।

मङ्गलबार बेलुकी जयगढ बजारका घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बजारमा सात करोड ५४ लाखभन्दा बढी क्षति भएको बताइन्छ। जयगढ बजारमा लागेको भीषण आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको थियो।

स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमइ सेन्टरमा साँझ ७ः२० मा ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राति साढे १२ नियन्त्रणमा आएको थियो।

जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा घर तथा पसलहरू पूर्ण रुपमा जलेर नष्ट भएको विवरण छ।

यो पनि पढ्नुहोस् : जयगढ बजार आगलागी : प्रदेश सरकारले पीडितलाई ५० लाख दिने

सम्बन्धित
Loading...