Skin_Hospital_Dhn

‘स्वाभिमान सुदूरपश्चिम अभियान’ को थालनी, यस्ता छन् उठाएका सवाल

धनगढीः सुदूरपश्चिम प्रदेशमा ‘स्वाभिमान सुदूरपश्चिम अभियान’को थालनी गरिएको छ। बुधाबार धनगढीमा पत्रकार सम्मेलनको आयाजना गरी उक्त अभियानको सुरुवात गरिएको हो।

शिक्षाविद् डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाही, इन्सेक सुदूरपश्चिम कार्यालयका प्रमुख खडकराज जोशी र उद्योग वाणिज्य संघ कैलालीका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले सो अभियान थालेका हुन्।

अभियानले सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब पुग्ने विश्वास रहेको प्रदेशसभा सदस्य शाहीले बताए। साथै संविधान संशोधनका क्रममा सुदूरपश्चिमलाई अग्राधिकार दिनुपर्ने माग अभियानको रहेको उनले औंल्याए।

शिक्षाविद् डा. पन्तले सुदूरपश्चिममाथि भएको अन्याय, विभेद र उपेक्षा तथा व्याप्त भ्रष्टाचार र अनियमितता एवं सबैखाले सामाजिक सांस्कृतिक विभेदका विरुद्ध, न्याय एवं स्वतन्त्रता र सुदूरपश्चिमको सर्वागिण विकास, सुदूरपश्चिमको गरिवी निवारण, रोजगारी सिर्जना, आर्थिक वृद्धि, सभ्यता, वा एउटै साझा भाषा संस्कृतिको संरक्षण, प्राकृतिक स्रोतको उपयोगका लागि समान धारणासहित सुदूरपश्चिमका विकास सवालहरूमा राजनीतिक आस्थाभन्दा माथि उठेर संगठित पेशा व्यवसायी, स्वतन्त्रर सक्रिय नागरिकहरुले सुरु गरेको सकारात्मक अग्रगामी परिवर्तनको अभियान भएको बताए।

स्वाभिमान सुदूरपश्चिम अभियानले उठान गर्ने सवालहरूमा सुदूरपश्चिलाई विशेष प्रदेश (क्षेत्र) घोषणा तथा विशेषाधिकारसहित क्षतिपूर्ति, नीजि क्षेत्रको लगानी प्रवद्र्धनका लागि सुदूरपश्चिमलाई सहुलियत दरको ऋण सुविधा, करमा सहुलियत, सहुलियत दरमा विद्युत् पूर्वाधारमा साझेदारी, व्यवसायिक सुरक्षासहित गोल्डेनजोन घोषणा रहेको उद्योग वाणिज्य संघ कैलालीका पूर्वअध्यक्ष भण्डारीले बताए।

नेपाल सरकारले विनियोजन गर्ने वार्षिक बजेटमा कम्तिमा २० प्रतिशत ५० वर्ष निरन्तर हुने कानुनी प्रबन्ध, सुदूरपश्चिमको आर्थिक विकास र रोजगारी वृद्धिको लागि विशेष कार्यक्रम घोषणा, भारतमा श्रम गर्ने नेपालीको लागि बीमा नीतिसहित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कानुनी व्यवस्था गर्नुपर्ने सवाल पनि सो अभियानले उठाएको छ।

यसका साथै सुदूरपश्चिमको सीमा नाकाबाट हुने उत्तर दक्षिणको सडक सञ्जालीकरण तथा आवतजावतमा सहजता, शिक्षा स्वास्थ्य र सामाजिक विकासमा प्राथमिकतासहितको नीतिगत व्यवस्था, संघीय सरकारले गठन गर्ने संघीय सरकारका आयोग, बोर्ड, समितिहरूमा सुदुरपश्चिमको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने सवाल आफूहरूले उठाएको अभियानका संयोजनकर्ता खडकराज जोशीले बताए।

यस्तै, सुदूरपश्चिमको पर्यटन विकासका लागि विशेष प्याकेज घोषणा र सुदूरपश्चिमको भाषा साहित्य संस्कृति सभ्यता इतिहासको संरक्षण, उत्खनन् र उन्नयनका लागि उच्चस्तरीय आयोग गठन गनुपर्ने माग अभियानको छ। अभियानमा सुदूरपश्चिमका विभिन्न राजनीतिक दल, नागरिक समाज र स्वतन्त्र बुद्धिजीवी सहभागी रहेको प्रदेशसभा सदस्य शाहीको दाबी छ। सुदूरपश्चिमका सबै जिल्ला र पालिकामा अभियान विस्तार गरेर निरन्तर आफ्ना मुद्दा उठान गरिने उनले बताए। अभियानअन्तर्गत कैलाली र कञ्चनपुरमा ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ गठन भइसकेको उनले जानकारी दिए।

सम्बन्धित
Loading...