
धनगढी: कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका भुवन महरा प्यानलसहित विजयी भएका छन्।

महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतीमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सयुक्त अखिल प्यानलका बमबहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरेका छन्। सचिवमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अखिल सयुक्तका गणेशनाथ योगीले ३२६ मत पाए।

कोषाध्यक्षमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी अखिल सयुक्तकी दिपिका जोशीले ३५१ मत प्राप्त गरिन्। सदस्य पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको दुर्गालक्ष्मीमा नेविसंघविरुद्ध सबै गठबन्धन एक भएर चुनाव लडेका थिए। दुर्गालक्ष्मीमा बुधबार भएको निर्वाचनमा कुल ८३१ मत खसेको थियो।
