Skin_Hospital_Dhn

मुख्यमन्त्री शाहको पहलमा चिसापानी–मंगलसेन सडकले पूर्णता पाउँदै !

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको विशेष पहलमा चिसापानी–मंगलसेन सडक खण्डले पूर्णता पाउने भएको छ।

मुख्यमन्त्री शाहले चिसापानी–मंगलसेन सडक खण्डको रुख कटानसम्बन्धी समस्या समाधान गर्न संघीय वन वातावरणमन्त्री ऐनबहादुर शाही, वन वातावरण राज्यमन्त्री रुपा विक र सचिवलगायत महाशाखा प्रमुखसँग भेटे चासो र चिन्ता व्यक्त गरेका थिए।

तत्काल काम सुरु गर्न वनमन्त्री शाहीले निर्देशन दिँदै सडक विभागले वन तथा भू–संरक्षण विभागलाई पत्र लेख्दै सम्झौता प्रक्रिया अगाडि बढाउन र रकम कोषमा हाल्न परे तयार रहेको पत्र प्राप्त भएको सो पश्चात आइतवार सम्झौता प्रक्रिया अगाडि बढ्ने मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार चिसापानी–जंगलघाट–मंगलसेन सडकअनतर्गत पहिलो चिसापानीदेखि माथि ठेक्का लागेको सडक खण्डमा पर्ने रुख कटान आदेशका लागि आइतवार सम्झौता हुनेछ।

चिसापानी–जंगलघाट–मंगलसेन सडकले सुदूरपश्चिमका कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्छ । कर्णाली नदीको कुइनेमा पक्की पुल निर्माण पूरा भएको छ भने कर्णालीकै जंगलघाटमा पुल निर्माणको ठेक्का भएको छ ।

कर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने यो सडक सबैभन्दा छोटो दूरीको राजमार्ग हो । यो सडक पूरा नहुँदा अहिले अछामका बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेल्धुरा र डोटी छिचोल्दै अछाम पुग्नुपर्ने बाध्यता छ ।

अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दूरी तय गर्नुपर्छ। चिसापानी–मंगलसेन सडक निर्माण हुनसके यो दूरी २ सय किलोमिटरले छोटो हुनेछ। कैलाली र सुर्खेतका २२ वटा स्थानीय तह र अछामका लागि यो सडक महत्त्वपूर्ण छ।

सम्बन्धित
Loading...