
धनगढीः कैलालीको धनगढी उपमहानरपालिका–८ क्याम्पस रोडमा रहेको एरिष्टो इंग्लिस हाई स्कुलले ६ किसिमका छात्रवृति प्रदान गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी स्कुलले विभिन्न छात्रवृति कार्यक्रम घोषणा गरेको हो।
स्कुले नयाँ शैक्षिक २०८२ बाट कक्षा ११ को पढाइ सुरु गर्ने गरी छात्रवृति कार्यक्रम घोषणा गरेको हो। विद्यालयले व्यवस्थापन विषय अध्यापन गराउने प्रधानाध्यापक हरि क्षेत्रीले बताए।

उनका अनुसार २०४९ मा खुलेको एरिष्टो स्कुलले आफ्नै नवनिर्मित विद्यालय भवनमा कक्षा ११ को पढाइ गर्ने भएको हो। विद्यालयले व्यवस्थापन विषयसँगै शैक्षिकसत्र २०८३ बाट विज्ञान विषयको समेत पढाइ सुरु गर्ने प्रधानाध्यापक क्षेत्रीले बताए। उनले विद्यालयले कक्षा ११ र १२ को अध्यापनसँगै विद्यार्थीहरूलाइ विभिन्न छात्रवृत्ति उपलब्ध गराउने बताए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक क्षेत्रीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सिक्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने योजना रहेको बताए। उनले विद्यार्थीहरूको रुचिका आधारमा पढ्दै कमाउने वातावरण सिर्जना गरिने उनको भनाइ छ।
विद्यालयले कलेज छात्रवृतिमा कुनै पनि माविबाट कक्षा १० उत्तीर्ण गरी सम्बन्धित विद्यालय/कलेजका प्रअको सिफारिसमा पठाइएका एकजना विद्यार्थीलाई कक्षा ११/१२ मा पूर्ण छात्रवृति गर्ने प्रधानाध्यापक क्षेत्रीले जानकारी दिए।

राष्ट्रसेवक छात्रवृत्तिअन्तर्गत राष्ट्रसेवक प्रहरी जवानहरूको एकजना बालबालिकालाई प्रत्येक वर्ष कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। यसका साथै विद्यालयले पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारका एकजना बालबालिकालाई कक्षा १ देखि १० सम्म पूर्ण छात्रवृत्ति दिने भएको छ।
दुर्गम छात्रवृतिअन्तर्गत सुदूरपश्चिमका पहाडी जिल्लाका अतिविपन्न परिवारबाट कक्षा ८ पास गरी ९ कक्षामा ‘म धनगढी पढ्छु’ भन्ने सोच गरी आएका गरिब तथा जेहेन्दार एकजना विद्यार्थीलाई खान बस्न, पोसाक, पुस्तक, कापी, कलमसहितको पूर्ण छात्रवृति दिने प्रधानाध्यापक क्षेत्रीले जानकारी दिए।
यस्तै, एकल महिला सहारा छात्रवृत्ति गरिब एकल महिलाका एकजना सन्तानलाई नर्सरीदेखि कक्षा १० सम्म पूर्ण छात्रवृति दिने भएको छ। कर्मचारी हकहित छात्रवृतिअन्तर्गत विद्यालयका सम्पूर्ण कर्मचारीका एकजना सन्तानलाई पूर्ण छात्रवृति प्रदान गर्दै आएको प्रधानाध्यापक क्षेत्रीले बताए। उनका अनुसार विद्यालयले सरकारी नियमअनुसार दिनुपर्ने छात्रवृत्तिका अतिरिक्त माथि उल्लिखित छात्रवृत्ति दिइनेछ।
एरिष्टो स्कुलले शिक्षक कर्मचारीहरूलाई पाँच लाखको बीमा सुविधा दिनुका साथै आगामी आर्थिक वर्षबाट शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोष र सञ्चयकोषको व्यवस्था गरिने बताइन्छ।
