
धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिले राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय धनगढीलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रवार महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहको नेतृत्वको टोलीले सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण तथा पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाको विषयमा दबाबसहित चासो दिन ध्यानाकर्षण गराउँदै मानवअधिकार अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको हो।

घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि आग्रह गर्दै पत्रकार महासंघ प्रदेश समितिले कार्यालय प्रमुख प्रकाश भट्टलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष शाहले बताए। ज्ञापनपत्र कार्यक्रममा महासंघका महासचिव शिवराज भट्ट, सुदूरपश्चिमका विभिन्न जिल्लाका अध्यक्ष पनि सहभागी थिए।
