Skin_Hospital_Dhn

बैतडीमा असिनापानीले बालीनालीमा क्षति

बैतडीः  असिनापानीले बैतडीमा बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो।

रोप्न तयार पारेका तरकारीका बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन्। शनिबार दिउँसो तीन बजेतिर परेको असिनापानीले पाटन नगरपालिका वडा नं ८ र ९ मा अन्नबाली तथा तरकारी खेतीमा व्यापक क्षति गरेको किसान जयन्ती बिजले बताइन्।

यसैगरी सूर्नया गाउँपालिकाको वडा नं ६ को मुसे, रौटेलगायत गाउँमा परेको असिनापानीले यहाँका किसानको पाक्न लागेको गहुँबाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै चिन्तामा परेको किसान उद्धवबहादुर चन्दले बताए। शनिबार ३ बजे दिउँसो मुसलधारे वर्षासँगै परेको असिनापानीले यहाँका अधिकांश किसानको गहुँबालीमा क्षति भएको सूर्नया गाउँपालिका ६ का किसान पदमराज भट्टले बताए।

असिनाले बैतडीका धेरैजसो गाउँमा किसानको गहुँबाली, सागपातका बेर्ना र फलफूलमा क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएको ज्याफूका लोकबहादुर ऐरीले बताए।

शनिबारको असिनापानीले बैतडीका विभिन्न ठाउँमा ठुलो क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तरकारी र हिउँदेबालीलाई अहिले असिनापानीले क्षति गरेपछि यहाँका किसान तनावमा छन्।

असिनापानीले गहुँबालीमा मात्र क्षति नभई यहाँका किसानको तरकारी तथा फलफूल खेतीमा समेत ठूलो क्षति गरेको पाटन नगरपालिका ९ की कमला भण्डारीले बताइन्। पाटन नगरपालिका वडा नम्बर ८, ९ र सूर्नया गाउँपालिका वडा नं ६ लगायतका क्षेत्रमा असिनापानीले गहुँबालीमा क्षति गरेको भन्ने कुरा जानकारीमा आएको पाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कालु सिंह भाटले बताए।

सम्बन्धित
Loading...