
काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार भएको दिनको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको छ। लगातार चार खेलमा जितपछि पहिलो हार भोग्ने क्रममा गुजरात ३ बलअगावै ६ विकेटले पराजित भयो।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सानदार सुरुवात गरे पनि अन्त्य भने धिमा गर्दा उच्च स्कोरबाट बन्चित भयो। यद्यपि उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।


गुजरातका लागि साइ सुदर्शनले ३७ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान शुभमन गिलले ३८ बलमा ६० रनको इनिङ्स खेलेका थिए। यी दुईबीच पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी भएको थियो। १२.१ ओभरमै १ सय २० रन बनाए पनि त्यसपछिको बाँकी ओभरमा उसले ६० रन मात्रै बनाएको थियो।
गुजरातका लागि थप दोहोरो स्कोरका रुपमा जोस बटलरले १६ रन बनाए भने सर्फन रुथफोर्डले २२ रन बनाएका थिए। त्यस्तै, शाहरुख खान ११ रनमा नटआउट रहे। लखनउका लागि सार्दुल ठाकुर र रभि विश्वइले समान २-२ विकेट लिए।
१ सय ८१ रनको लक्ष्य पछ्याएको लखनउले उक्त लक्ष्य १९.३ ओभरमा पूरा गर्यो। लखनउका लागि एडन मारक्रमले ५८ रन बनाउँदा निकोलस पुरनले ६१ रन बनाए। त्यस्तै, आयुस बाडोनीले २८ रनको नटआउट इनिङ्स खेल्दा ओपनर तथा कप्तान ऋषभ पन्तले २१ रन बनाएका थिए।
६ खेलपछि पराजयका बाबजुत गुजरात ४ जितसहित ८ अङ्क बनाएर दोस्रो स्थानमा कायम रहेको छ। त्यस्तै, तेस्रो स्थानमा उक्लिएको लखनउको पनि समान ६ खेलबाट ४ जितसहित ८ अङ्क भएको छ। दिनको दोस्रो खेलमा अहिले पञ्जाब र हैदराबाद प्रतिस्पर्धा गरिरहेका छन्।
