
धनगढी: एक स्वास्थ्य तथा प्रतिजैवी प्रतिरोध सम्बन्धी एकदिने प्रदेशसभा सदस्य तथा सरोकारवालाहरूसँगको अभिमुखीकरण तथा योजना कार्यक्रम सम्पन्न भएको छ। प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कैलालीको आयोजनामा आइतबार धनगढीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकासमन्त्री मेघराज खड्का रहेका थिए भने विशिष्ट अतिथिमामा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का रहेकी थिइन्।

कार्यक्रममा मानव स्वास्थसँगै स्वास्थ्य तथा प्रतिजैवी प्रतिरोधीका बारेमा विश्व स्वास्थ्य सङ्गठनका फिल्ड मेडिकल अफिसर डा. सुजन अधिकारीले आफ्नो प्रस्तुतिकरण राखेका थिए। उनले बिरामीहरुले पूरा डोज औषधि नखाने गरेको बताए।

कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. नरेशप्रसाद जोशीले पसुपछी तथा जनावरसँग सम्बन्धित रोगबारे प्रकाश पारेका थिए। जनावरसँग सम्बन्धित रोगको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीमा विषेश ध्यानदिनुपर्ने उनको भनाइ छ।
कार्यक्रममा सामाजिक विकासमन्त्री खड्काले मानिसको स्वास्थ्य सुधार भएर मात्रै नहुने भएकाले वातावरण र पुशपन्छीको स्वाथ्यमा पनि त्यतिकै ध्यानदिनुपर्ने बताए । उनले बर्डफ्लु र स्वाइन फ्लुबाट पनि जोगिनुपर्नेमा जोड दिए। यसका साथै औषधिको सही सदुपयोग गर्न नसकेका कारणले पनि विभन्न प्रकारका रोगहरु आइरहेको बताए।
स्वास्थ्य तालिम केन्द्र धनगढीका महानिर्देशक नरेन्द्रसिंह कार्कीले हरेक नागरिकले आफ्नो स्वास्थ्यलाई सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने बताए।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका कार्यालय प्रमुख हेमराज खड्काले मानव स्वास्थ्यका साथै वातावरणीय स्वास्थ्यकाबारेमा सबैले चनाखो हुनुपर्ने बेला आएको बताए। उनले अहिले हरेक खानेकुराहरुमा केमिकल मिसिएको हुने हुँदा पनि स्वास्थ्यमा विषेश ध्यानदिनुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा प्रदेशसभा सदस्य, पूर्व प्रदेशसभा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिका साथै पत्रकारहरूको सहभागी रहेको थियो। एक स्वास्थ्यमा सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको थियो।
