
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले एक हजार ६ सय ४३ वटा सर्पको उद्धार गरेका छन्। सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले नगर क्षेत्रमा मानिसको घर, गोठ, ओछ्यानमुनि, भान्सामा पसेका सर्प उद्धार गर्दै आएका छन्।
धनगढी उपमहानगरले ‘हरघडी नगर प्रहरी’ अभियान सञ्चालन गरिरहेको छ। जसअनुसार नगर प्रहरीले विषालु र विषालुरहित गरेर हालसम्म एक हजार ६ सय ४३ वटा सर्पको उद्धार गरिसकेको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ।


सर्प उद्धारका लागि खबर आएपछि जुनसुकै समयमा पनि सम्बन्धित ठाउँमा पुगेर नगर प्रहरीले उद्धार गर्ने गरेको छ। सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छोडिएको छ ।
उपमहानगरपालिकामा कार्यरत सबै नगर प्रहरीलाई सर्प उद्धारसम्बन्धी तालिम उपलब्ध गराएपछि नगर प्रहरीहरू अन्य कामको साथै सर्प उद्धारमा खटिने गरेका छन्। नगर प्रहरी टोलीको सक्रियताका कारण सर्प र मानिस दुवैको ज्यान जोगिने गरेको छ।
भारतबाट सर्प उद्धारसम्बन्धी सामग्री ल्याएर उद्धारको काम गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ। यो सेवा धनगढी नगर प्रहरीले निःशुल्क रूपमा सेवा उपलब्ध गराउने गरेको छ। यसका लागि धनगढी नगर प्रहरी बलको १८१०५०००००९० टोल फ्री नम्बर र सशुल्क ०९१–५९०६९० मा फोन गर्नुपर्छ।
