
काठमाडौं: तीन वटा प्रदेश प्रहरी कार्यालय करिब एक महिनादेखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) विहीन भएका छन् ।
प्रदेश प्रहरी प्रमुखको रुपमा रहने डीआईजी अवकाशमा गएपछि तीन प्रदेशको कमाण्ड एक महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले गरिरहेका छन् ।


डीआईजी विहीन हुनेहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय छन् । यी तीन वटै प्रदेशका डीआईजीहरु ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए । सुदूरपश्चिम प्रदेशका डीआईजी गणेश चन्द ४ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएयता उक्त प्रदेश डीआईजीविहीन छ ।
कर्णाली प्रदेश पनि एक महिनाभन्दा बढी समयदेखि डीआईजीविहीन छ। कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएर प्रदेश समन्यव विभागमा हाजिर भएका थिए । त्यसयता कर्णाली प्रदेश डीआईजीविहीन छ। केही दिनका लागि एआईजी बनाइएका भट्टराई पनि ३० वर्षे सेवा अवधिका कारण ४ चैतमा अनिवार्य अवकाशमा गएका थिए।
गण्डकी प्रदेशका भोलाबहादुर रावल पनि ४ चैतमै अनिवार्य अवकाशमा गएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पनि डीआईजीविहीन बनेको छ। पहिला एआईजीको बढुवा गरेपछि मात्रै डीआईजीको बढुवा गर्ने तयारी रहेकाले अझै लामो समय प्रदेशहरु डीआईजीविहीन हुने देखिन्छ।
अहिले गण्डकी प्रदेशको कमाण्ड एसएसपी महेन्द्र खड्काले गरिरहेका छन्। कर्णालीको कमाण्ड एसएसपी शिवकुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको कमाण्ड एसएसपी प्रकाश मल्लले गरेका छन्।
