
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले चिसापानी–मंगलसेन सडकको काम चाँडो अगाडि बढाउन निर्देशन दिएका छन्। उनले सरोकारवाला पक्षसँग छलफल गरेर काम चाँडो गर्न निर्देशन दिएका हुन्।
आज (बुधबार) बिहान मुख्यमन्त्री शाहले सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर प्रकाश खड्का, वन निर्देशनालय सुदूूरपश्चिमका प्रमुख हेमराज बिष्ट, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल, मोहन्याल गाउँपालिका–७ का अध्यक्ष नवराज कठायत, बाटो चाँडो बनोस भनेर अनसन बसेका नेत्र भण्डारीलगायतसँग छलफल गरी सरोकारपक्षलाई काम चाँडो गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।


चिसापानी–मंगलसेन सडकको १६ किलोमिटर खण्ड स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढेको छ। प्रक्रिया अघि बढेसँगै मुख्यमन्त्री शाहले सरोकारवाला पक्षसँग छलफल गरेर काम अगाडि बढाउन निर्देशन दिएका हुन्। चिसापानी–कुइने सडक निर्माणका लागि ४ सय ७२ वटा रुख काट्न सम्झौता भएको छ। मंगलबार मात्रै संघीय वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभागबीचमा सम्झौता भएको हो।
विभागको मंगलबारको निर्णयानुसार अनुसूचीमा संग्लन सर्तहरू पालना गर्ने गरी वन ऐन २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानूनको समेत अधिनमा रहने गरी दुवै पक्षबीच सम्झौता भएको उल्लेख छ। सम्झौता अनुसार उक्त वन क्षेत्र प्रयोग गर्न गराउन तथा वन क्षेत्रमा रहेका रूख/पोलहरू हटाउन दुवै पक्ष सहमति भएको उल्लेख छ।
वन ऐन, २०७६ दफा ४२ को उपदफा ९१० बमोजिम राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र त्यो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रूख काट्न स्वीकृति दिने भनी नेपाल सरकार मन्त्रिपरिषद् बैठकले २०८० पुस २४ मा निर्णय गरेको थियो। त्यसपछि वन तथा भू–संरक्षण विभाग, वन संरक्षण शाखाले डिभिजन वन कार्यालय, पहलमानपुर, कैलालीलाई सम्झौता पत्र पत्राचार गर्दै वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सिंहदरबार र सडक विभाग (भू–वातावरण तथा समाजिक शाखा) बबरमहललाई समेत वोधार्थ दिइसकेको छ।
यो पनि पढ्नुहोस् : जब सुदूरपश्चिमका मुख्यमन्त्री शाह बाचा पूरा गरेरै फर्किए…
