
धनगढी: काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालका चकित्सक प्रा. डा. वसन्त पन्तले सुदूरपश्चिममा एक सय शय्याको न्युरो साइन्स इन्स्टिच्युट चलाउन तयार रहेको बताएका छन्। कैलालीको गेटा अस्पतालमा बिहीवारदेखि सुुरु भएको निःशुल्क छारे रोग तथा स्नायुसम्बन्धी शिविरको उद्घाटनमा उनले सो कुरा बताएका हुन्।
उनले पब्लिक प्राइभेट पार्टनरशिप (पीपीपी) मोडलअनुसार न्युरो साइन्स इन्स्टिच्युट खोल्न सकिने बताए। ‘मसँग ठूलो टिम छ। विद्यार्थी नै ५० जना छन्। उनीहरूले मभन्दा पनि राम्रो काम गर्छन्। हाम्रो टिम यहाँ सधैको लागि एक सय बेडको न्युरो साइन्स इन्स्टिच्युट चलाउन सक्छौँ,’ डा. पन्तले भने, ‘हामीलाई गेटामा ठाउँ दिनुपर्यो। हामी इन्स्टिच्युट चलाउँछौँ।’

छारे रोग तथा स्नायुसम्बन्धी रोगको उपचार गराउनका लागि यहाँका बिरामीहरू भारत जाने गरेको र त्यहाँ राम्रो उपचार पाइरहेकोजस्तो आफूूलाई नलागेको उनले बताए। यहाँ इन्स्टिच्युट चलाउन सकेमा बाहिर उपचार गराउन जाने मान्छेलाई यहीँ रोक्न सकिने र भारतीय बिरामीलाई पनि यहाँ ल्यान सकिने उनको भनाइ थियो।
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल र न्युरो फाउन्डेशन नेपालको आयोजनामा सुरु भएको शिविरको सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका हुन्।

मन्त्री खड्काले अटिजम भएका बालबालिकाको पीडा उसका आमाबुवालाई मात्रै थाहा हुने बताए। उनले अटिजम भएकालाई प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए।
सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीले पछिल्लो समय अटिजमसम्बन्धी समस्यामा पनि बढिरहेको बताए। उनले पछिल्लो २०७८ सालको जनगणनाले पनि करिब पाँच हजार व्यक्तिमा अटिजमसम्बन्धी समस्या रहेको देखिएको बताए।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय, राजपुर, डोटीको सहयोगमा स्नायुसम्बन्धी अटिजम बाल अपाङ्गता परीक्षणको निःशुल्क शिविर आयोजना गरिएको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी धनगढीका अध्यक्ष रमेश बस्नेतले बताए।
उनका अनुसार वैशाख ४ र ५ गते छारे रोग र ६ गते स्नायुसम्बन्धी अटिजम बाल अपाङ्गता परीक्षण निःशुल्क रूपमा हुनेछ।
