Skin_Hospital_Dhn

मुख्यमन्त्री शाहले डाँके मन्त्रीदेखि र सुरक्षा निकायका प्रमुख, दिए प्रभावकारी काम गर्न निर्देशन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका मन्त्री, सचिव, चारै सुरक्षा निकायका प्रमुख तथा प्रदेशअन्तर्गत कार्यालयका प्रमुखसँग विभिन्न विषयमा छलफल गरी जानकारी लिएका छन्।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्ति सुरक्षाको अवस्था, भन्सार चेकजाँच तथा आवागमन सहजीकरण, राजश्व संकलन र लागूऔषध नियन्त्रणका विषयमा छलफल गरेका हुन्।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशभित्रको शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रभावकारी रूपमा लाग्न निर्देशन दिए।

उनले सर्वसाधारण जनतालाई राज्यले दिने सेवासुविधामा सहज पहुँचको वातावरण निर्माण गरी सम्मानजनक रूपमा सेवा प्रवाह गर्नसमेत निर्देशन दिए। बैठकमा सुरक्षा निकायमा प्रमुखहरुले समग्र शान्ति सुरक्षा चुस्त दुरूस्त रहेको ब्रिफिङ गरेका थिए।

बैठकले शान्ति सुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरमा सुरक्षा सम्बन्धित बैठक सम्भव भएसम्म मासिक रूपमा सञ्चालन गर्ने, भन्सार चेकजाँच, सीमापार आवागमन सहजीकरण, लागुऔषध नियन्त्रण गर्ने र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि सरोकारवाला कार्यालयहरू र सुरक्षा निकाय समेतको प्रतिनिधित्व हुने गरी एक समिति गठन गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाश बम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय निमित्त प्रमुख सचिव लिलाधर सुवेदी, नेपाली सेना, सुदूरपश्चिम पृतना हेडक्वाटरका उपरथी प्रकाश देउजा, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सचिव सुरतकुमार वम, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल, वैद्यनाथ बाहिनी सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपक अधिकारी, नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालय, कैलाली प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश कार्यालयका सह अनुसन्धान निर्देशक नगेन्द्रप्रसाद दाहाललगायतकाको उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...