
बैतडी ।
बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्लाको मेलौली नगरपालिकाले परीक्षा केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो ।

हिजो (शुक्रबार) सुरु भएको एसईईलाई मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए । ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा बिक्री नगर्न समेत आग्रह गरिएको छ । कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु बिक्री गरेमा कारबाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
