
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ‘लागुऔषधजन्य गतिविधि नियन्त्रण गर्न सुपरिवेक्षण समिति’ गठन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले ‘लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति’ गठन गर्ने निर्णय गरेको हो।

उक्त समितिको संयोजक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रहनेछन् भने सदस्यमा प्रदेश सचिव (आन्तरिक मामिला तथा कानून मन्त्रालय), कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख रहनेछन्। सदस्य सचिवमा प्रदेश सचिव कानून रहनेछन्।

त्यस्तै, ‘सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति’ पनि गठन गरिएको छ। उक्त समितिको संयोजकत्व पनि प्रमुख सचिवले नै गर्नेछन्। उक्त समितिमा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य रहनेछन् ।
बैठकले सीमापार आवागमन, रोजगारीका लागि भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापन, भन्सार चेकजाँच तथा राजस्व अभिवृद्धिजस्ता विषयलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यविवरण र कार्ययोजना तयार गरी अघि बढ्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ।
