
पुर्चौंडी (बैतडी): बैतडी समाज कैलालीले बैतडीको पुर्चौडीमा आयोजना गरेको स्वास्थ्य शिविरमा उद्घाटनकै दिन ११ सय ५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
आफ्नो वार्षिक नियमित कार्यक्रमअन्तर्गत बैतडी समाज कैलालीले यसपालीको स्वास्थ्य शिविर बैतडीको पुर्चौडीमा आयोजना गरेको हो। स्वास्थ्य शिविरका संयोजक गजेन्द्रबीर चन्दले उद्घाटनकै दिन ११ सय ५ जनाले स्वास्थ्य परिक्षण गरेको बताए।

शिविरमा ७ जना विषेशज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका हुन । शिविरमा फिजिसियन डाक्टर चेतराज भट्ट, युरोलोजिष्ट डाक्टर जोनेश तिवारी, हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डाक्टर नरबहादुर मौनी, स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर रविन्द्र भट्ट, मुटुु रोग विषेशज्ञ डाक्टर अजय भट्ट, दन्तरोग विषेशज्ञ डाक्टर सन्तोषकुमार पाण्डे, मेडिकल अफिसर डाक्टर रोहीत ठगुन्नासहितको चिकित्सकको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा धनगढी नेत्रालयको नेत्र विषेशज्ञको टोलीले पनि १८७ जनाको आँखाको परीक्षण गरेको छ। आँखाको परिक्षणमा २५ जनाको सल्यक्रिया गरिने नेत्रालयका कार्यकारी निर्देशक गजेन्द्रबहादुर चन्दले बताए। आँखाको सल्यक्रियाका लागि वरिष्ठ नेत्र विषेशज्ञ डाक्टर विद्याप्रसाद पन्तसहितको टोली पुर्चौंडी पुगिसकेको छ।

शनिबार देखि आँखाको परिक्षण र सल्यक्रिया गरिने शिविर संयोजक चन्दले बताए। ‘पहिलो दिनमै २५ जना विरामी आँखाको सल्यक्रिया गर्नुपर्ने खालका आएका छन्। शनिबारदेखि डाक्टर पन्तसहितको टोलीले सल्यक्रिया गर्नेछ’ शिविर संयोजक चन्दले भने।
शनिबार पुर्चौंडिमै बृहत रक्तदान महोत्सव पनि आयोजना हुने भएको छ। रक्तदानका लागि नृेपाल रेडक्रम सोसाईटी प्रादेशीक रक्तसञ्चार सेवा कैलालीका प्रमुख धरणी प्रसाद पन्त सहितको टोली पुर्चौंडी पुगिसकेको छ।
‘पुर्चौंडीमा रक्तादानमा कति सहभागि हुन्छन, थाहा छैन तर यो विकट क्षेत्रमा रक्तदान जीवन दान हो भनेर जनचेनतनाका लागि हामी यहाँ आएका हौं, यसले गाउँ गाउँमा रक्तादान गर्नुपर्छ भन्ने भावनाका विकास होला भन्ने आशा गरेका छौं’ पन्तले भने।
शिविरको शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले उद्घाटन गरेकी थिइन् । उद्घाटन समारोहको अध्यक्षता पुचौंडी नगरपालिकाका प्रमुख दिपक बमले गरेका थिए।
शिविरको उद्घाटन गर्दै राज्यमन्त्री खडकाले विकट विकट स्थानमा आएर बैतडी समाज कैलालीले गरिरहेको स्वास्थ्य शिविरको सराहना गरिन। ‘गाउँका धेरै जनता अझै विषेशज्ञ स्वास्थ्य सेवाबाट बञ्चित छन, उनीहरुलाई शिविरले राहत भएको महसुस गरेकी छु’ राज्यमन्त्री खडकाले भनिन। शिविर बैशाख ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
