
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन्। शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले ‘सडकबाट ऐन पास हुने हो?’ भनी शिक्षकहरूलाई प्रश्न गरेकी छिन्।
राज्यको तलब खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ।


उनले लेखेकी छिन्– ‘यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ। मध्यस्थकर्ता जस्तो भए पनि केही न केही काम गरौँ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्याे भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ। तर उहाँहरू त संवाद नै नगर्ने रे। शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्किँदैनौँ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?’
झाँक्रीले विधेयक संशोधनसहित पास हुने भएकाले छलफलले समय लिएको स्पष्ट पार्दै अब समितिबाट विधेयक पास हुने प्रक्रिया रहेको उल्लेख गरिन्।
यस्तै, उनले विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुने समेत बताइन्। सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरू समेत रमिता हेर्न सडकमा गएको झाँक्रीको आरोप छ।
