
काठमाडौं ।
बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको टुंगो लगाएको छ । रास्वपाले बिहीवार दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको थियो ।
रास्वपाबाट चितवन २ मा पार्टी सभापति रवि लामिछाने उम्मेदवार रहने भएका छन् । प्रारम्भिक सूचीमा चितवन २ को लागि सभापति लामिछानेको एकल नाम सिफारिस गरिएको थियो।


यस्तै, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार रहने भएका छन् । यसअघि प्रारम्भिक सूचीमा वाग्लेसहित ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सिफारिस गरिएको थियो । वाग्लेले बिहीवार मात्र नेपाली कांग्रेस परित्यागको घोषणा गरेका थिए ।
त्यसैगरी, बारा २ बाट रमेश खरेल उम्मेदवार रहने बताइएको छ । यसअघि सो क्षेत्रको लागि खरेलसहित युवराज न्यौपानेको नाम सिफारिस गरिएको थियो।
उम्मेदवारहरुबारे जानकारी दिन रास्वपाले शनिवार अपराह्न ४ वजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
