
कञ्चनपुर: यतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ।
आन्दोलनरत शिक्षकहरूले विद्यार्थी भर्ना अभियान रोक्न उर्दी नै जारी गरेका छन्। शिक्षक कर्मचारी आन्दोलनमा रहेका बेला कञ्चनुपरको वेदकोट नगरपालिका–६ सिसैयामा रहेको भुवनेश्वरी माविले भर्ना अभियान अघि बढाएको छ।

विद्यालय व्यवस्थापन समितिले विद्यार्थी भर्ना अभियान अगाडि बढाएको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविन बोगटीले एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना अभियान कार्यक्रम अघि बढाएका हुन्।

वैशाख ७ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थी भर्ना कार्यक्रम सुचारु हुने बताएका हुन्। विद्यालय भर्ना हुन आउँदा अनिवार्य रूपमा अभिभावकलाई साथमा ल्याउन अनुरोध गरिएको छ।
अध्यक्ष बोगटीले शिक्षकहरूले भर्ना नगर्ने उर्दीबाट अभिभावक तथा विद्यार्थीहरू बिचलित नहुन आग्रह गरे। उनले शिक्षकहरू आन्दोलन गरिरहेपनि आफुहरूले भर्ना अभियान अघि बढाएको बताए।
सामुदायिक बिद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थी शिक्षकहरूको आन्दोलनका कारण रोकिन नहुने बताए। त्यसका लागि व्यवस्थापन समिति र अभिभावक संघले अभियान अगाडि बढाएको उनको भनाइ छ।
