
धनगढी ।
आज (शनिवार) मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि थ्री स्टार र मनाङ–मर्स्याङ्दी क्लब बिच प्रतिस्पर्धा हुदैछ । धनगढी रङ्गशालामा आज (शनिवार) दिउँसो हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । साबिक विजेता मनाङ खप्तड गोल्डकपमा तेस्रो उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ । तेस्रो पटक फाइनलमा प्रवेश गरेको थ्री स्टार पनि उपाधिको स्वाभाविक दाबेदार हो । यसै गरी, थ्री स्टार सुदूरपश्चिममा पहिलो पटक उपाधि जित्न चाहन्छ । दुवै टोलीका कप्तानहरूले उपाधि आफूले जित्ने दाबी गरेका छन् ।

प्रतियोगिताको फाइनलअघि शुक्रवार भएको प्रिपोस्ट म्याचमा थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाइनलमा रातो कार्ड पाएका मिडफिल्डर दीपेश गुरुङको अनुपस्थितिले क्लबको प्रदर्शनमा असर नपर्ने बताएका छन् । आफूहरूसँग सन्तुलित टाली रहेको उल्लेख गर्दै विक्रमले उपाधिमा आफ्नो स्वाभाविक दाबी रहने बताए । ‘फाइनलको रणनीतिअनुसार मेरो भूमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भूमिकामा खेलाउँछन् । म तयार रहेको छु,’ कप्तान विक्रमले भने । सेमिफाइनल लगत्तै फाइनल खेल्नुपरेकाले खेलाडीको ‘फिटनेस’मा असर पारेको उनले बताए । तर, उपाधि भिडन्तमा खेलाडी मानसिक रूपमा तयार रहेको उनको भनाइ छ । ‘तेस्रो पटक खप्तड गोल्डकपको फाइनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौँ,’ उनले भने ।

त्यस्तै मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरू तयार रहेको बताए । ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु फाइनलमा खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन्,’ गुरुङले भने, ‘विदेशी खेलाडीको प्रदर्शनले टिमलाई धेरै सहज बनाएको छ, हामीले तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का छ ।’ थ्री स्टार घरेलु टोली सुदूरपश्चिम ११ लाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तर र मनाङ क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै अन्तिम दुई स्थान पक्का गरेका हुन् ।
प्रतियोगिताको उपाधि विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार तथा म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
