Skin_Hospital_Dhn

भारतमा बेपत्ता भएका सुमन अझै भेटिएनन्, बुवा भन्छन्– के खाँदै होला !

धनगढीः भारतको उत्तरप्रदेशबाट बेपत्ता भएका कैलालीको धनगढीका २४ वर्षीय सुमन जोशी अझै भेटिएका छैनन्।

धनगढी उपमहानगरपालिका बोराडाडी घर भएर रुड्की ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा अध्ययनरत जोशी फागुन २८ गतेदेखि बेपत्ता भएका थिए।

पारिवारिक स्रोतकाअनुसार जोशी होस्टेलमा बसेर बिएस्सीएजी आठौं सेमेस्टरमा पढ्दै आएका थिए। फागुनदेखि सम्पर्कविहीन भएका जोशी हालसम्म फेला नपरेको उनका बुवा नवराज जोशले जानकारी दिए।

‘फागुन २८ गते दिउँसो होस्टेलबाट बाहिर जान्छु भनेर बाहिर निस्केका रहेछन्। राति ९ बजेसम्म पनि नआएपछि वार्डेन (प्रदीप गुप्ता)ले मलाई फोन गरेका थिएँ, सुमनका बुवा नवराजले नयाँ सन्देशसँग भने, ‘मैले पनि छोरालाई फोन गरेँ सम्पर्क भएन। बिहानै हामी यहाँबाट गयौँ, त्यहाँको भारतीय प्रहरीसँग समन्वय गरेर खोजीतलासी गर्‍यौं। एक ठाउँमा खाजा खाइरहेको सिसिटिभी फुटेजमा देखियो। सोही दिन रामनगर भन्ने ठाउँमा हिँड्दै गरेको देखिायो। त्यसपछि भने कतै देखिएन।’

परिवार र भारतीय प्रहरीले उनको खोजी जारी राखेकोमा अझै फेला नपरेका हुन्। उनले आफ्नो छोराको खोजीका लागि गृहमन्त्री रमेश लेखकलाई पनि आग्रह गरेको र परराष्ट्र मन्त्रालयमार्फत् पहल गरिदिने आश्वासन मिलेको बताए।

नवराज भन्छन्, ‘सन्तानका रूपमा एक छोरा थिएँ, राम्रो थियो, राम्रैसँग पढिरहेको थियो। अहिले कहाँ होला? के खाँदै होला? केही अत्तोपत्तो  छैन।’ उनले भारतमा रहेका नेपाली समुदायलाई खोजीमा सहयोगको लागि आग्रह गरे।

सम्बन्धित
Loading...