
कञ्चनपुर: कञ्चनपुरमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुलाह र दुलहीसहित सातजना घाइते भएका छन्।

डडेल्धुराको परशुराम नगरपलिका–७ मलासबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐँठपुरमा जान्ती लिएर आइरहेको भारतीय नागरिकले चलाएको युके ०६ पिए ४२४९ नम्बरको स्कारपियो आइतवार राति ९ः४५ बजे भीमदत्त–३ तिलकपुरमा दुर्घटना भएको हो।

घाइते हुनेमा बझाङको वित्थडचिर गाउँपालिका बस्ने २५ वर्षीय डम्मर खडायत, सोही ठाउँकी ३२ वर्षीया त्रिमली खडायत, डडेल्धुराको परशुराम नगरपलिका–८ की २२ वर्षीया शान्ति बोहरा, कैलालीको गोदावरी नगरपालिका–२ की २२ वर्षीया मनिषा धामी, गोदावरीकै १६ वर्षीया भूमिका धामी घाइते भएका छन्। घाइतेहरूको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
यस्तै, भीमदत्त नगरपालिका–६ का २९ वर्षीय लक्ष्मण खडायत (दुलाह) र परशुराम नगरपलिका–७ मलासकी २२ वर्षीया बसन्ती धामी (दुलही) घाइते भएका छन्। दुलाह र दुलही उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। स्कारपियो चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
