
धनगढी: कैलालीमा लागूऔषध (खैरो हेरोइन) सहित तीनजना पक्राउ परेका छन्। सोमबार धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट एक नाबालकसहित २ जना र सोही वडाको सन्तोषीटोलस्थित स्टेपिङ स्टोन बोर्डिङ स्कुल नजिकबाट एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटीगएको संयुक्त प्रहरी टोलीले भन्सार नजिकबाट एक नाबालकसहित दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको थियो।

बा ६४ प ९३४२ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार नाबालकको खल्तीमा लुकाई–छिपाई राखेको अवस्थामा ७ ग्राम ७२० मिलिग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चालक उपमहानगरपालिका–१३ बस्ने १८ वर्षीय भूपेन्द्र राना र मोटरसाइकलको पछाडि सवार नाबालकलाई नियन्त्रणमा लिइएको छ।
यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने ४० वर्षीय मीनबहादुर बमलाई पनि प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। उनको साथबाट ८ ग्राम ४६० मिलिग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नियन्त्रणमा लिईएका तीनै जनालाई हिरासतमा राखि थप अनुसन्धान गर्ने कार्य भइरहेको बताइन्छ।
