
बझाङ: बझाङको बित्थडचिर गाउँपालिकामा खुल्ला वडास्तरीय प्रथम जय नेपाल वडाध्यक्ष कप पुरुष क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ। बित्थडचिर गाउँपालिका वडा नंं ९ को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता वैशाख १६ गतेदेखि सुनकुडा माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु हुने आयोजकले जनाएको छ। सामाजिक सद्भाव, सहकार्य र युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको वडाध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ , ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय टिमले नगद २५ हजार १ सय ५१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

साथै, उत्कृष्ट खेलाडी, बलर, ब्याटर तथा उदउमान खेलाडीलाई पनि नगद पुरस्कार दिइने जनाइएको छ। वडा कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा दर्ता शुल्क ५ हजार तोकिएको छ। टिम दर्ता वैशाख १५ गतेसम्म गरिसक्नुपर्नेछ। हरेक खेल १२ ओभरको हुने र खेलमा टेनिस बल प्रयोग गरिने जनाइएको छ। प्रतियोगिता आईसीसीको नियमअनुुसार खेलाइनेछ। तर एल्बीडब्लू भने लागू हुने छैन।
