
काठमाडौँ: सरकार र आन्दोलनरत शिक्षकबीच भोलि शनिबार बिहान ७:३० बजे वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको जनाएका हुन्।

पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख छ। मन्त्रालयले आजको बैठक कारणवस हुन नसकेको पनि भनेको छ। मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि आजको वार्ता हुन नसकेको हो।

शिक्षक नेता सानुभाइ कार्कीका अनुसार यसअघि मन्त्रालय प्रवेश गर्ने पास देखाए प्रवेश नदिइएको र छुट्टै पास मागेपछि शिक्षकका प्रतिनिधिहरू सिंहदरबार गेटबाटै फर्किएका थिए। मन्त्रालयले सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेश आज प्राप्त भएको र उक्त आदेशअनुसार नेपाल शिक्षक महासंघसँग छलफल गर्न लागिएको जनाएको छ।
मन्त्रालयले शिक्षक महासंघका अध्यक्षसहित पदाधिकारीलाई छलफलमा सहभागी हुन आह्वान गरेको छ। शिक्षक नेता कार्कीका अनुसार शनिबार बिहानको वार्ता निर्णायक हुन सक्छ। ‘आज हामी सबैलाई भित्र(सिंहदरबार) जान दिइएन। जान नदिएपछि हामी आफ्नै आन्तरिक छलफलमा लाग्यौँ,’ कार्कीले भने, ‘भोलि बिहान छलफलमा बस्ने भनिएको छ। सायल यो छलफल निर्णायक हुन्छ।’
