
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो भारत भ्रमणबारे प्रदेश प्रमुख नजर मियाँलाई जानकारी गराएका छन्। शनिबार मुख्यमन्त्री शाहले सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँलाई भ्रमणबारे जानकारी गराएका हुन्।
प्रदेशको वर्तमान रानीतिक अवस्था, संसद् सुचारु र मुख्यमन्त्रीसहितको टोली भारत भ्रमण प्रस्थानका विषयमा प्रदेश प्रमुख मियाँलाई भेटेर जानकारी गराइएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।


भारत सरकारको निमन्त्रणमा वैशाख १६ गतेदेखि २२ गतेसम्म मुख्यमन्त्री शाहसहितको १० सदस्यीय टोली भारत जाने कार्यक्रम तय भएको छ। उक्त टोलीले भारतको दिल्ली, देहरादुन र लखनउ भ्रमण गर्ने कार्यक्रम छ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही रहेका छन्।
यसैगरी नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम भ्रमण टोलीमा छन्।
यस्तै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा रहेको बताइन्छ। भारत भ्रमणका लागि २५ जनालाई लैजाने प्रदेश सरकारको प्रस्ताव थियो तर नेपालस्थित दूतावासले १० जनालाई मात्रै व्यवस्थापन गर्न सक्ने भनेपछि १० जनाले स्वीकृति पाएका हुन्। भ्रमण टोली काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जानेछ।
