
काठमाडौँ ।
एक जना उपसचिवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (आइतबार) उपसचिव वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्त गरेको अख्तियारको आरोप छ।


सर्लाहीको हरिपूर्वा ५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार विशेष अदालत पुगेको हो ।
अख्तियारका सहसचिव भोला दाहालका अनुसार सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालले अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपपत्रसहित विशेषमा मुद्दा दायर गरिएको छ ।
भ्रष्टाचार मुद्दामा डामिएका उपसचिव तिमल्सिना हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय सर्लाहीको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत छन् ।
