Skin_Hospital_Dhn

कांग्रेसभित्र ध्रुवीकरण तीव्र, महामन्त्रीका दाबेदार महर मध्यमार्गी धारको नेतृत्व प्रयासमा

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति अझै अनिश्चित हुँदा पार्टीको शक्ति-सङ्घर्षको केन्द्रविन्दुमा एकाएक नैनसिंह महर आइपुगेका छन्।

महामन्त्री पदमा उनको सशक्त दाबीले परम्परागत संस्थापन र इतर दुवै खेमालाई झस्काएको छ भने पार्टी पंक्तिमा उनी ‘हट केक’ बनेका छन्। चिया पसलदेखि संयन्त्रको बैठकसम्म, अहिले कांग्रेसभित्र महरको चर्चा र उनको सम्भावित भूमिकाबारे सर्वाधिक बहस भइरहेको छ।

पार्टीभित्र व्याप्त चरम गुटबन्दी, विधान मिच्ने प्रवृत्ति र नेतृत्वको अकर्मण्यताबाट वाक्क भएका ठूलो पंक्तिले महरको उम्मेदवारीलाई आशाको नजरले हेरेको छ। उनले केवल उम्मेदवारी घोषणा मात्र गरेका छैनन्, बरु कांग्रेसलाई जीवन्त र विधिमा चलाउन १४-बुँदे ठोस एजेन्डासहित मैदानमा उत्रिएका छन्। ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’ जस्ता क्रान्तिकारी प्रस्तावदेखि पार्टी सञ्चालनमा ‘थिङ्क ट्याङ्क’ र युवालाई निर्णायक भूमिका दिने उनको प्रतिबद्धताले विशेषगरी युवा र परिवर्तन चाहने कांग्रेसजनलाई चुम्बकले झैं तानेको छ।

नेविसंघका पूर्व अध्यक्षको ऊर्जा र केन्द्रीय सदस्यको अनुभवको फ्युजन देखिएका महरको स्पष्ट अडान र आक्रामक कार्यशैलीले उनलाई रातारात राष्ट्रिय राजनीतिको ‘टक अफ द टाउन’ बनाएको छ। संस्थापन पक्षभित्रको एउटा शक्ति उनलाई ‘साइज’ मा राख्ने रणनीति बनाउन व्यस्त छ भने इतर खेमा पनि उनको उदयले आफ्नो समीकरणमा पार्नसक्ने प्रभावको हिसाबकिताब गर्न थालेको छ र त्यसभित्रको अर्को शक्ति निकै उत्साहित समेत बनेको छ। दुवै पक्षका असन्तुष्ट नेता-कार्यकर्ताहरू महरको सम्भावित ‘मध्यमार्गी धार’ प्रति आकर्षित हुन थालेको गाइँगुइँ चल्न थालेको छ।

शिक्षा विभाग प्रमुखका रूपमा शैक्षिक मुद्दामा देखाएको नेतृत्वदायी भूमिकाले उनको प्रोफाइललाई थप वजनदार बनाएको थियो। अहिले महामन्त्रीको घोषणाले उनको राजनीतिक कद ह्वात्तै बढेको छ। विश्लेषकहरू भन्छन्, ‘महरले सही समयमा सही मुद्दा उठाएका छन्। उनले कांग्रेसभित्रको त्यो मौन तर विशाल असन्तुष्ट जमातको आवाजलाई प्रतिनिधित्व गरेका छन्, जसलाई दुवै गुटले बेवास्ता गरिरहेका थिए।’

उनको घोषणाले महाधिवेशनको प्रतिस्पर्धालाई बहुआयामिक र रोचक बनाइदिएको छ। अब लडाइँ केवल दुई गुटबीच मात्र सीमित रहेन। महरको हस्तक्षेपकारी उपस्थितिले शक्ति सन्तुलनमा फेरबदल ल्याउने निश्चितप्रायः छ। उनी कति मत ल्याउँछन् वा जित्छन्/हार्छन् भन्नेभन्दा पनि, उनले उठाएका मुद्दा र सिर्जना गरेको तरंगले कांग्रेसको आगामी दिशा निर्धारणमा निर्णायक भूमिका खेल्ने देखिन्छ। नैनसिंह महर अब कांग्रेस राजनीतिको एक बेवास्ता गर्नै नसकिने शक्ति र सर्वाधिक ध्यान खिचिरहेका नेताका रूपमा स्थापित भएका छन्।

सम्बन्धित
Loading...