Skin_Hospital_Dhn

रियाललाई हराउँदै बार्साले जित्यो कोपा डेल रेको उपाधि

काठमाडौं: बार्सिलोनाले चीर प्रतिद्धन्दी रियाल मड्रिडमाथि अतिरिक्त समयमा ३–२ गोलको जित हात पार्दै कोपा डेल रेको उपाधि जितेको छ। एल क्लासिको भिडन्तमा बार्सिलोनाका लागि जुल कुन्डेले निर्णायक गोल गरे।

सेभिलमा आज विहान भएको खेलको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। ​ २८औं मिनेटमा पेड्रिले, लमिन यामलको सहयोगमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा यहि नतिजा कायम रह्यो।

ब्रेकपछि किलियन एम्बाप्पे सब्सटिच्यूट खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि रियालको खेलमा सुधार आयो। ७०औं मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काए।

७७औं मिनेटमा आर्दा गिलेरको कर्नरमा चुवामेनीले गोल गरेपछि रियाल २–१ ले अघि रहेको थियो। तर अन्तिम समयसम्म जोगउन भने सकेन। ८४औं मिनेटमा बार्सिलोनाका फरान टोरेसले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

१ सय १६औं मिनेटमा कुन्डेले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । बार्सिलोनाको यो कीर्तिमानी ३२ औं कोपा डेल रे उपाधि हो। अन्तिम समयमा रियाल दश खेलाडीमा समेटिएको थियो। लुकास भाकेज रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।

हान्जी फ्लिकको बार्सिलोनाको प्रशिक्षकका रुपमा यो पहिलो मुख्य उपाधि हो। प्रशिक्षक फ्लिकले अहिलेसम्म खेलेका सात फाइनल हारेका छैनन्।

बार्सिलोनाले यो सिजन स्पेनिस सुपर कपको उपाधि पनि जितेको थियो। अब उसको नजर ला लिगा र च्याम्पियन्स लिगमा छ।

सम्बन्धित
Loading...