
धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ।
भारतको खिरी जिल्लाको खुटारमा उनीसहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो। दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो। तीन जनालाई धनगढी ल्याइँदैछ।


परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जाँदै गरेका शाह चढेको गाडी आइतवार बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो। उनीहरू सवार गाडी बससँग ठोकिएको हो। गाडी पूरै क्षतिग्रस्त भएको छ।
बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याककुचुक भएको छ। दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरूले गाडीभित्रबाट शाहसहितका घाइतेहरूलाई बाहिर निकालेका थिए। शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जाँदै थिए।
गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए। शाह, बहिनी र ज्वाइँलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताइएको छ। दुर्घटनामा घाइते शाहको अवस्था खतरामुक्त रहेको बिजेपी पलियाका युवा नेता रवि गुप्ताले बताए।
