
धनगढी: सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई दिइएको छ।
मुख्यमन्त्री कमलबहादुर शाह एक साताका लागि छिमेकी देश भारत जाने भएपछि मन्त्री थापाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन्। वैशाख २२ गतेसम्मका लागि उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्री शाहसहितको १० सदस्यीय टोली आज भारत भ्रमणमा जाँदैछ। उक्त टोलीले भारतको दिल्ली, देहरादुन र लखनउ भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही रहेका छन्।
यसैगरी नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम भ्रमण टोलीमा छन्।
यस्तै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा रहेको बताइन्छ। टोलीले दिल्लीमा संघीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्नेछ।
उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ। भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ।
