
२०८२/१/१६
प्यारा विद्यार्थी भाइबहिनीहरूमा धेरै सम्झना

म आजको मितिसम्म त सन्चो आरामै छु आशा छ विद्यार्थी भाइबहिनीहरू पनि आरामै हुनुहोला भन्ने।
शारीरिक रूपमा आराम भएता पनि शिक्षक, विद्यार्थी, आदरणीय अभिभावक, स्थानीय निकायका पदाधिकारीज्यूहरू तथा समाजसेवीलगायत सम्पूर्ण बुद्धिजीवी सचेत नागरिकहरू मानसिक रूपबाट त्यति सन्चो छैनौँ किन कि निर्धारित समयमा नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालन हुन नसकेकोले हामी चिन्तित छौँ।
सर्वप्रथम त शैक्षिक सत्र २०८१ को परीक्षामा सफल हुनु भएका सबै विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई छ। साथै केही विद्यार्थीहरू ग्रेडबृद्धि परीक्षा दिन पर्ने अवस्थामा हुनुहुन्छ राम्रोसँग अध्ययन गर्नुहोला समस्या परेको कुरा टिप्पणी गरेर जानकार दाइदिदीहरू वा विषय शिक्षकलाई फोन गरेर भने पनि सोधपुछ गरि सिक्दै पुरक परीक्षाको तयारी गरि सफल हुनुहोला भन्ने अग्रिम शुभकामना दिन चाहन्छु।
विद्यार्थी भाइबहिनीहरूलाई शिक्षक आन्दोलन किन? केका लागि ? भन्ने खुल्दुली लागेको हुन सक्छ म त्यही जिज्ञासा मेटाउने प्रयास गर्दै छु।
प्यारा विद्यार्थी भाइबहिनीहरू हामीलाई पढाउन अल्छि लागेर काठमाडौंको सडकमा देशैभरका शिक्षक भेला भएका पक्कै होइनौँ। शिक्षा क्षेत्रमा राज्यले गरेको अन्याय, असमान्ता, बेथिति र राज्यले सिर्जना गरेको १७ प्रकारका शिक्षकको समस्या अन्त्य गरि अग्रगामी शिक्षा ऐन लागू गराउन सकेमा आगामी दिनमा अहिलेको हामी शिक्षक बर्गले भोग्न परेकोजस्तो पीडा भाबी पुस्ताले नपरोस् र शिक्षा क्षेत्रमा राम्रो समय अनुकुल सुधारिएको शिक्षा ऐन र अन्य सेवा सुविधा आशा लाग्दो भएमा योग्य, दक्ष र प्रतिभाशाली युवा पुस्ता पनि शिक्षण पेशामा आबद्ध हुने वातावरण सिर्जना भएमा यो देशको शैक्षिक उन्नति, प्रगति अझै राम्रो हुनेछ भन्ने सोचका साथ शिक्षक आन्दोलन थालनी गरिएको छ।
शिक्षा समाज विकासको मेरुदण्ड हो, त्यसैले शिक्षा नीति राम्रो बनोस् र मुलुक सिस्टममा चलोस भन्ने लक्ष्यका साथ शिक्षक महासघको नेतृत्वमा शिक्षक आन्दोलन २०८१/१२/२० गतेदेखि संचालन भएको छ। हामी पनि पेशागत हकहितको लागि आन्दोलनको मैदानमा सहभागी भएका छौँ।
प्यारा भाइबहिनीहरू हामीले सोचेका थियौँ बढीमा पाँच/सात दिन आन्दोलन गरेपछि राज्यले वार्ता गरेर समस्या समाधान होला भन्ने आशा गरेर माइतीघर मण्डलामा भेला भयौँ तर सरकारले सुनेन चैते दशैँ जहान परिवार, इष्टमित्र भेला भएर मनाउन पाएनौँ सडकैमा मनायौँ। नयाँवर्ष पनि आन्दोलनमा एकआपसमा शुभकामना व्यक्त गर्दै मनाउन बाध्य भयौँ। गत चैत २० गतेदेखि हामी आन्दोलनमा छौँ। हामीले प्यारा विद्यार्थी भाइबहिनीहरूको पढनपाठन र आदरणीय अभिभावक बर्गको बालबालिकाहरूप्रतिको चिन्तन, मनन र लक्ष्य हामी कर्तव्यनिष्ट शिक्षकले कदापि बिर्सेका छैनौँ। भाइबहिनीहरूका लागि नयाँ कक्षाको भर्ना र हाजिरी रजिस्टर, अनि नयाँ पुस्तक प्रधानाध्यापकज्यूले फोनमार्फत अडर गरेर विद्यालयमा व्यवस्था मिलाइसक्नु भएको छ।

पुस्तक वितरण गर्न भने आन्दोलनको सीमा मापदण्डअनुसार सकेका छैनौँ यसमा माफ गर्नुहोला। बरु पास हुनु भएका दाइदिदीहरूको पुरानो पुस्तक मागेर पढ्दै गर्नुहोला। समयको सदुपयोग गर्दै नेपाली, अंग्रेजीको अक्षर सुधारको लागि दैनिक रुपमा एकएक पाना पाठ सार्ने, चित्र बनाउने, गणितको शुत्र घोक्ने, ब्याकरणको पुस्तक पढ्ने, निबन्ध लेख्ने तथा अन्य रचनात्मक कार्यमा अभ्यास्त हुनुहोला भन्ने आशा गर्दछु।
साथै मोबाइल, टेलिभिजन हेरेर समय धेरै खर्च नगरी चुनौतीलाई अवसरको रुपमा सदुपयोग गर्दै आफ्नो आमा, बुबा,दाइदिदी अभिभावकसँग कृषि कार्य र भान्सामा खानाका विभिन्न परिकार पकाउने पाक शिक्षा ब्यवहारिक जीवन उपयोगी सीप सिक्न पनि समय दिनु भएमा राम्रै हुनेछ।
सुन्दैन यदि सुन्नेले भने भन्नेले मात्र गर्छ र पो के? नाङ्गाको मुलुकमा धोबीले काम खोज्दा पाउँछ र पो के? भने जस्तै शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकको माग सुनेर समाधानको लागि विकल्पको खोजस्मा प्रयास गर्नु भै वार्तामा बसेर निर्णय गर्ने मनसाय गर्नु भएको थियो तर प्रधानमन्त्रीको अडान र हट्को कारणले वातावरण सिर्जना नभएपछि राजीनामा नै दिनुपर्यो। हाल नव नियुक्त शिक्षा मन्त्रीज्यूको पहलमा वार्ताको माहोल बन्दैछ आशा गरौं न्यायको जित अवस्य हुनेछ भन्ने आशाको साथ आन्दोलनरत छौँ।
हाम्रो माग सबै पूरा हुन्छ भन्ने पनि होइन तर सम्भावना भएसम्मका मुख्य मागसहित अग्रगामी शिक्षा ऐन लागू भएको भोलिपल्ट नै हामी विद्यालयमा पढाउन आउन हतारमा छौँ । यो आन्दोलन हाम्रो रहर नभई राज्यले बनाएको बाध्यता हो, त्यसैले आदरणीय स्थानीय निकायका पदाधिकारीज्यूहरु, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सघ रअभिभावकज्युहरू त आन्दोलनको यथार्थताबारे स्पष्ट हुनुहुन्छ। त्यसैले शिक्षक आन्दोलनको सफलताको कामना गर्दै सर्वप्रथम एतिहासिक गोरखाका ११ वटै स्थानीय निकायका नगरपालिकाका आदरणीय मेयर, उपमेयर गाउँपालिकाका आदरणीय अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिज्यूहरूले सामूहिक रूपमा जायज मागप्रति सहयोग तथा समर्थन जनाउनु भई आम श्रमजीवी शिक्षकहरूको मनोबल उच्च बनाइदिनु भएकोमा हामी आभारी छौँ।
प्यारा विद्यार्थी भाइबहिनीहरूलाई अझै आन्दोलनको केही माग बारे स्पष्ट गराउन चाहान्छु कक्षा ११/१२ मा पढाउने सर मिसहरूले अहिलेसम्म स्थायीको लागि आयोगको परीक्षा दिन पाउनु भएको छैन आशै आशमा उमेर ३५/४० वर्ष कटिसक्यो, अब स्थायी जागिरको लागि उमेरको हदबन्दी लाग्ने बेला भयो। तपाईंहरूलाई बालकक्षामा पढाउनु भएका मिसहरू पनि न्यून तलबमा पढाउन बाध्य हुनु भएको छ। हालसम्म दरबन्दी कायम भएको छैन। नानीबाबुहरुलाई मायालु वातावरणमा खेलाउँदै पढाउँदैमापढाउने सहयोगी कार्यकर्ताको पनि दुखको कुरा शिक्षक सेवा आयोगको परीक्षा दिने उमेरको हदबन्दी लाग्ने बेला भयो तर जागिरको ठेगान छैन।
त्यस्तै विद्यालयमा वार्षिक रूपमा करोडौँ हरहिसाब राख्ने, सर्टिपिकेट बनाउने लेखापालको पनि दरबन्दी छैन। अझै दुखको कुरो त विगत ३५/४० वर्ष पहिलादेखि सायद तपाईंहरूको बुबा, ममी, काका, दाइ, दिदी र अहिले तपाईंहरूलाई पनि विद्यालयमा निकै टाढाटाढाको धाराबाट गाग्रीमा पानी बोकेर पानी खुवाउने, स्कुलमा घण्टी बजाउँदा बजाउँदै ६० वर्ष उमेरको हदबन्दी लागेकोले मासिक रु पाँच, सात हजार तलबमा काम गरेर विद्यालयमा पानी खुवाउँदा खुवाउँदै विचरा आफूलाई अरुले पानी खुवाउन पर्ने बेलामा मलिन अनुहार बनाउँदै जागिर छोडेर खाली हात घर जानुपर्ने बाध्यता हजारौँ कार्यालय सहयोगीको तितो यथार्थ छ। हो यस्तै यस्ता विविध समस्याको उचित समाधान वैज्ञानिक ढङ्गले गरियोस् र गुणस्तरीय अग्रगामी नयाँ शिक्षा ऐन लागू होस् भन्ने उद्देश्यले शिक्षक वर्ग आन्दोलनमा छौँ।
हाम्रो सामूहिक बाध्यतालाई मनन गरि धैर्य गरिदिनुहोला, भाइबहिनीहरूको आन्दोलनको कारण असर परेको पढाई हामी सल्लाह गरेर बिदाको समयलाई सदुपयोग गरि कोर्ष पूरा गर्ने प्रयास गर्नेछौँ भन्दै आन्दोलनबारे छोटो जानकारी गराउँदै पत्र बन्द गर्दछु बाँकी कुरा भेटमा गरौंला ।
–विद्यार्थीको भलो चाहाने शिक्षक
भेदमान बस्नेत (गोरखा)
