
धनगढी: कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए। गम्भीर चोट लागेर घाइते भएका सिंहको आकस्मिक उपचार कक्षमा ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए।

सिंह मिर्गौलापीडित रहेको र प्रादेशिक अस्पतालमा डायलिसिस गर्दै आएको अस्पतालले जनाएको छ। वैशाख १५ गते वार्ड भर्ना भएर उपचार गर्दै आएका सिंहलाई सोमबार चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए।
उनका साथ श्रीमती ईश्वरीदेवी कुरुवा रहेको खुलेको छ। एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको जनाइएको छ।
