
धनगढी: कैलालीको धनगढीस्थित खुल्ला मञ्च व्यवस्थित गर्न बोलपत्र आह्वान गरिएको छ।
धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्चको दक्षिण क्षेत्रको भाग व्यवस्थित गर्न बोलपत्रको सूचना सार्वजनिक गरेको हो। धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चको दक्षिण क्षेत्रको खाली क्षेत्रमा बालबालिकाको खेलमैदान, बजारलगायतका संरचनाहरू निर्माणका लागि एक महिनाको समय राख्दै बोलपत्रको सूचना सार्वजनिक भएको छ।

धनगढी उपमहानगरपालिका र महिला मैत्री सहर परियोजनाको संयुक्त लगानीमा खुल्ला मञ्च व्यवस्थित गर्न चैत २७ गते बोलपत्रको सूचना सार्वजनिक गरिएको हो। वैशाख २६ गतेसम्म बोलपत्रको समय अवधि रहेको छ। बालबालिकाका लागि मैदान, जेष्ठ नागरिक मिलन क्षेत्र, युवा लक्षित क्षेत्र, खानाका स्टलहरू र विश्राम स्थल निर्माणका लागि बोलपत्रको सूचना सार्वजनिक गरिएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्च व्यवस्थित गर्न विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो। धनगढी उपमहानगरपालिकाले २ करोडका संरचनाहरू चालु आर्थिक वर्षमा खुल्ला मञ्च क्षेत्रमा निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो।
महिलामैत्री सहर परियोजनाको एक करोड ५० लाख र धनगढी उपमहानगरपालिकाको ५० लाखको लागतमा भौतिक संरचनाहरू निर्माण गर्ने भनिएको हो। परियोजनाले ७० प्रतिशत र धनगढी उपमहानगरपालिकाले ३० प्रतिशत लगानी खुल्ला मञ्चमा गर्ने छन्। तर, ठेक्का स्वीकृत भएको छैन। धनगढी उपमहानगरपालिकाले माटो भरान, सडक निर्माण र शौचालयलगायतको काम थप गर्ने बताएको छ।
चालु आर्थिक वर्षमा खुल्ला मञ्चमा बालबालिकाका लागि खेल्ले स्थान तयार हुने छ। जेष्ठ नागरिक मिलन केन्द्र, युवा लक्षित क्षेत्र, खानाका अस्थायी स्टलहरू, विश्राम स्थल र शौचालय निर्माणको काम चालु आर्थिक वर्षमा तयार गर्ने भनिएको छ। महिलाहरूले रातिको समयमा समेत व्यापार गर्ने सक्ने गरेर विद्युत् लाइट जडान तथा संरचनाहरू निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ।
