Skin_Hospital_Dhn

मुख्यमन्त्री शाह नेतृत्वको टोलीलाई दिल्लीमा स्वागत

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा भारत भ्रमणमा गएको टोलीलाई दिल्लीमा स्वागत गरिएको छ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमा भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मा, भारत सरकारको तर्फबाट नेपाल हेर्ने डेपुटी सेक्रेटरी साकेता, नेपाल र भुटान नर्थ डेस्क हेर्ने एडिसनल सेक्रेटरी मुनु महाबर र काउन्सुलर नविन अधिकारीले स्वागत गरे।

भारत सरकारको निमन्त्रणामा मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक साताका लागि भारत भ्रमणमा गएको हो। नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात दुवै देशको तर्फबाट मुख्यमन्त्री स्तरीय ‍औपचारिक विदेश भ्रमण पहिलोपटक हुन गइरहेको छ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही रहेका छन्।

यसैगरी नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन्। टोलीले दिल्लीमा संघीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्नेछ।

उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ। भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ। उक्त टोली वैशाख २२ गते स्वदेश फर्किनेछ।

सम्बन्धित
Loading...