Skin_Hospital_Dhn

नयाँ दिल्लीमा भारतीय विदेश राज्यमन्त्रीसँग छलफल गर्दै मुख्यमन्त्री शाह

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको १० सदस्यीय टोली यतिबेला भारतको राजधानी नयाँ दिल्लीमा छ। मंगलबार एक साताको भ्रमणको लागि त्यहाँ पुगेको टोलीले आज (बुधबार) विभिन्न व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

टोलीले आज नयाँ दिल्लीका विभिन्न स्थान राजघाट, नयाँ ससद् भवन र प्रधानमन्त्री संग्राहलयको अवलोकन भ्रमण गर्ने मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।

साथै भारतीय विदेश राज्यमन्त्रीसँग छलफल, विदेश राज्यमन्त्रीद्वारा आयोजित दिवाभोज कार्यक्रममा सरिक, विवेकानन्द इन्टरनेशनल फाउन्डेसनमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै भारतीय उद्योग परिसंघ व्यापार प्रतिनिधिमण्डलसँग भेटघाटसहित रात्रिभोज कार्यक्रममा सरिक हुने कार्यक्रम छ।

नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात दुवै देशको तर्फबाट मुख्यमन्त्री स्तरीय ‍औपचारिक विदेश भ्रमण पहिलोपटक हुन गइरहेको छ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही रहेका छन्।

यसैगरी नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन्।

उक्त टोली वैशाख २२ गते स्वदेश फर्किनेछ।

सम्बन्धित
Loading...