
तनहुँ: तनहुँमाको व्यास नगरपालिका ६ श्याम्घामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले ५० रोपनीमा अदुवाखेती खेती सुरु गरेको छ।

एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा यनियनले अदुवा रोपेको थियो। उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ।

अखिल नेपाल ट्रेड महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मङ्गलबार २० जना सङ्गठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो।
पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ। बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासङ्घ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए।
