Skin_Hospital_Dhn

एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज ज्ञापनपत्र बुझाएको छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका हुन्।

एकीकृत समाजवादीले अपमानपूर्ण इतिहास बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको उल्लेख पत्रमा गरेको छ।

यिनै कारणले आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत पत्रमा व्यक्त गरेको छ। पार्टीले समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न बुँदामा प्रस्ताव अगाडि सारेको छ।

एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीसमक्ष बुझाएको पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैरआवासीय नेपालीलगायतका शिर्षकमा विभिन्न माग राखिएको छ। एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ।

शासकीय स्वरूप, सङ्घीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरवलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ।

प्रधानमन्त्री ओलीलाई मागसहितको ज्ञापनपत्र बुझाएपछि पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले जनता कुशासनको जाँतोमा पिल्सिएको भन्दै जतासुकै भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्ती कारण नागरिकले सास्ती भोग्नुपरेको बताए। उनले कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको बताउँदै कुशासनको जञ्जिरबाट नागरिकलाई मुक्त गर्नुपर्नेमा जोड दिए।

उनले कुशासनको जाँतोमा किचिएका जनताहरूलाई त्यसबाट मुक्त गर्न राज्य, सरकार र प्रधानमन्त्री संवेदनशील हुनुपर्ने बताउँदै जनतालाई सुशासन दिनुपर्ने बताए।

उपाध्यक्ष ज्वालाले व्यापक रूपमा फैलिएको भ्रष्टाचारको जालोलाई तोडेर नागरिकलाई सुशासन, शान्ति र अमन चयनको अनुभूति गराउन आफ्नोतर्फबाट सरकारलाई सहयोग गर्ने जिकिर गरे।

‘जनता कुशासनको जाँतोमा यति धेरै किचिएका छन्, यति धेरै पिल्सिएका छन्। जतासुकै भ्रष्टाचार, घुसखोरी अनियमितता छ, ढिलासुस्ती छ, हरेक ठाउँमा मान्छेहरूले सास्ती भोग्नुपरेको छ‚’ उनले भने, ‘कुशासनले मानिसहरूलाई धेरै यातना दिएको छ। त्यसैले कुशासनको जन्जिरबाट मान्छेलाई मुक्त गर्नुपर्‍यो। प्रधानमन्त्री, सरकार त्यो कुरामा गम्भिर हुनुपर्‍यो।घुस खोर, तस्करहरू, नाफाखोरहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्‍यो।’ उपाध्यक्ष ज्वालाले प्रधानमन्त्रीले आफूहरूका मागप्रति चासो देखाएको बताएका छन्।

उनले ती मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धतासमेत जाहेर गरेको बताए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आवको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसंन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोशिस गर्ने विश्वास दिलाए।

प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिए। प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए।

सम्बन्धित
Loading...